spot_img

वीरगञ्जमा जग्गा कित्ताकाट खुल्यो, कारोबार पुनः सञ्चालन हुने

spot_img
spot_img

वीरगञ्ज, १४ साउन — करिब दुई महिनादेखि रोकिएको वीरगञ्ज महानगरपालिकाभित्रको जग्गा कित्ताकाट प्रक्रिया बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।

वीरगञ्ज महानगरपालिकाले जग्गा वर्गीकरणसम्बन्धी आवश्यक लगत तथा प्रतिवेदन समयमै भूमि प्रशासन तथा नापी कार्यालयमा नपठाउँदा कित्ताकाट प्रक्रिया अवरुद्ध भएको थियाे । यसका कारण जग्गा खरिद–बिक्री, नामसारी तथा अन्य प्रशासनिक कार्यसमेत प्रभावित भएका थिए।

कित्ताकाट रोकिँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै गुनासो बढेपछि जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन सोनारको पहलमा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित शाखाका कर्मचारीसँग छलफल गरिएको थियो।

छलफलपछि महानगरपालिकाले लामो समयदेखि तयारी अवस्थामा रहेको जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन तथा आवश्यक कागजात सम्बन्धित निकायमा पठाएको र त्यसपछि कित्ताकाट प्रक्रिया पुनः सुचारु भएको जनाइएको छ।

सभापति सोनारले लामो समयदेखि जग्गा कित्ताकाट रोकिँदा नागरिकले जग्गा खरिद–बिक्री गर्न नपाएर आर्थिक तथा प्रशासनिक समस्या भोग्नुपरेको गुनासो आएपछि आफूले आवश्यक समन्वय गरेको बताए।

दुई महिनापछि कित्ताकाट खुल्दा वीरगञ्ज क्षेत्रमा जग्गाको कारोबार पुनः चलायमान हुने अपेक्षा गरिएको छ। स्थानीय व्यवसायी तथा जग्गाधनीहरूले पनि निर्णयप्रति स्वागत गर्दै अब रोकिएका कारोबार अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय