बीरगन्ज,१४ साउन । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गर्दै बीरगन्जमा हिन्दु युवाहरूको एक समूहले प्रदर्शन गरेको छ।
देशका विभिन्न स्थानमा पछिल्ला दिनमा विकसित घटनाक्रम तथा सामाजिक अशान्तिप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्। स्थानीय प्रशासनले स्थानीय प्रशासन ऐनअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा गर्न तथा जुलुस निकाल्न निषेध गरेको भए पनि प्रदर्शनकारीहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए।
सम्भावित अप्रिय घटना हुन नदिन तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले वीरगञ्जका मुख्य चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानहरूमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग आग्रह गर्दै आदेशको उल्लङ्घन गरी कानुनविपरीत गतिविधि गरे प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
वीरगञ्जको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले परिस्थितिमाथि निरन्तर निगरानी राखिरहेको जनाएको छ।




