spot_img

सुनसरी, धनुषा र सिराहामा कर्फ्यु, पर्सामा निषेधाज्ञा लागू

spot_img
spot_img

बीरगन्ज,१४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि मधेस तथा आसपासका जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले सुनसरी, धनुषा र सिराहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने पर्साको वीरगञ्जमा निषेधाज्ञा लागू गरिएको छ।

सुनसरीमा यसअघि साउन ११ गतेदेखि लागू गरिएको कर्फ्युलाई देवानगञ्ज, कप्तानगञ्ज, महेन्द्र राजमार्ग आसपासका क्षेत्र तथा इनरुवा बजारसम्म विस्तार गरिएको प्रशासनले जनाएको छ।

यस्तै, जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका तोकिएका क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको छ।

सिराहामा पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै लहान, गोलबजार र चोहर्वा क्षेत्रमा बिहीबारदेखि कर्फ्यु आदेश जारी गरिएको छ।

यसैबीच, प्रदर्शन हुन सक्ने सम्भावित अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा लागू गरेको छ।

प्रशासनका अनुसार निषेधाज्ञा अवधिमा वीरगञ्जको प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेटसम्मको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई जारी आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ। आदेश उल्लङ्घन गर्नेविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने पनि प्रशासनले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय