बीरगन्ज,१५ साउन । नारायणी अस्पतालमा भएको कुटपिट तथा तोडफोड प्रकरणमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी तीन दिनपछि रिहा भएका छन्। मंगलबार पक्राउ परेका चतुर्वेदी बिहीबार साँझ प्रहरी नियन्त्रणबाट मुक्त भएका हुन्।
नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच आकस्मिक कक्षमा तोडफोड हुनुका साथै कार्यरत चिकित्सकमाथि कुटपिट भएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वडाध्यक्ष चतुर्वेदीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
चतुर्वेदी पक्राउ परेपछि वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका वडाध्यक्षहरूले उनको रिहाइको माग गर्दै ऐक्यबद्धता जनाएका थिए। विरोधस्वरूप वडाध्यक्षहरूले आफ्ना वडा कार्यालयबाट प्रवाह हुने प्रशासनिक सेवा तथा अन्य कामकाजसमेत ठप्प पारेका थिए।
यसैबीच अस्पताल परिसरमै चिकित्सकमाथि भएको कुटपिट र स्वास्थ्य संस्थामा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका थिए। चिकित्सकहरूको आन्दोलनका कारण देशभरका अस्पतालमा नियमित तथा गैरआकस्मिक स्वास्थ्य सेवा प्रभावित भएको थियो।
स्वास्थ्य सेवा प्रभावित हुँदै गएपछि सरकार र नेपाल चिकित्सक सङ्घबीच बुधबार गृह मन्त्रालयमा पाँचबुँदे सहमति भएको थियो। सहमतिपछि चिकित्सकहरूले आन्दोलन स्थगित गर्दै बिहीबारदेखि नियमित स्वास्थ्य सेवा सञ्चालनमा ल्याएका थिए।
आन्दोलन स्थगित भएको भोलिपल्टै वडाध्यक्ष चतुर्वेदी पनि प्रहरी नियन्त्रणबाट रिहा भएका हुन्। उनको रिहाइसँगै वीरगञ्जका वडा कार्यालयबाट रोकिएका प्रशासनिक सेवा तथा कामकाजसमेत नियमित हुने अपेक्षा गरिएको छ।




