जनकपुर,१५ साउन । धनुषाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भएपछि जनकपुर–जयनगर रेल सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडको जनकपुरधामस्थित केन्द्रीय कार्यालयले शुक्रबार सूचना जारी गर्दै यात्रुहरूको सुरक्षालाई ध्यानमा राखेर जयनगर–जनकपुर–भङ्गाहा खण्डमा चल्ने रेल सेवा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको हो।
धनुषाका तीन स्थानीय तहमा बिहीबारदेखि कर्फ्यु लागू रहेकाले जिल्लाको सुरक्षा अवस्था संवेदनशील बनेको छ। यस्तो अवस्थामा यात्रु तथा रेल सेवाको सुरक्षालाई मध्यनजर गर्दै नियमित सेवा सञ्चालन गर्न कठिनाइ भएकाले अस्थायी रूपमा रेल रोकिएको कम्पनीले जनाएको छ।
कर्फ्युको अवस्था सामान्य भई सुरक्षा सुनिश्चित भएपछि मात्रै रेल सेवा पुनः सञ्चालन गरिने जनाइएको छ।




