spot_img

सुनसरी र सिरहाको घटनाको विरोधमा जलेश्वर र गौशाला बजार बन्द

spot_img
spot_img

महोत्तरी,१५ साउन । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाको विरोधमा महोत्तरीका प्रमुख बजार जलेश्वर र गौशाला शुक्रबार बन्द गरिएका छन्।

जलेश्वरका विभिन्न चोकमा प्रदर्शनकारीले टायर बालेर विरोध जनाउँदै बजार, पसल तथा यातायात सेवा ठप्प पारेका छन्। बजार बन्द भएपछि जलेश्वरको जनजीवन प्रभावित भएको छ भने मुख्य बजार क्षेत्र सुनसान देखिएको छ। सडकमा सर्वसाधारणको चहलपहलसमेत निकै कम रहेको छ।

त्यस्तै, जिल्लाको प्रमुख व्यापारिक केन्द्र गौशालामा हिन्दुवादी संघ–संगठनका अगुवाहरूले प्रदर्शन गर्दै बजार तथा व्यवसाय बन्द गराएका छन्।

महोत्तरी प्रहरीका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्था भने सामान्य रहेको छ। प्रहरी प्रवक्ता एवं डीएसपी पञ्चलाल गोलेका अनुसार केही स्थानमा छिटफुट प्रदर्शन भए पनि स्थिति नियन्त्रणमै छ। सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्लाका संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी र परिचालन बढाइएको उनले बताए।

यसैबीच, जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई शान्ति, सामाजिक सद्भाव, आपसी भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न अपिल गरेको छ।

प्रशासनले महोत्तरी लामो समयदेखि धार्मिक सहिष्णुता र सामाजिक सद्भावको उदाहरणका रूपमा रहेको उल्लेख गर्दै बाह्य प्रभाव, अफवाह तथा उत्तेजनात्मक गतिविधिबाट समाजको शान्ति र एकतामा असर पर्न सक्ने जनाएको छ। प्रशासनले सबैलाई संयमित र जिम्मेवार व्यवहार गर्दै कानुनको पालना गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय