spot_img

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न शेखर कोइरालाको आग्रह

spot_img
spot_img

काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो परिस्थितिलाई लिएर सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न राजनीतिक नेतृत्व, धार्मिक गुरु, नागरिक समाजसहित सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले नेपाल विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी भएको उल्लेख गरेका छन् । विविधताबीचको एकता नै नेपालको सबैभन्दा ठूलो शक्ति भएकाले यसलाई कमजोर बनाउने कुनै पनि गतिविधि हुन नहुने उनको भनाइ छ ।

उनले आवेग र उत्तेजनाले समाजलाई थप तनावतर्फ लैजाने भन्दै अहिलेको अवस्थामा संयम, विवेक र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने बताए ।

कोइरालाले राजनीतिक नेतृत्व, धार्मिक गुरु तथा नागरिक समाजलाई शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

त्यस्तै, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत घृणा र द्वेष फैलाउने गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिएका छन् । समाजलाई विभाजित गर्नेभन्दा एकताबद्ध बनाउने सकारात्मक सन्देश प्रवाह गर्न सबैलाई उनले अपिल गरेका छन् ।

कोइरालाले पछिल्ला घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सुरक्षाकर्मी तथा आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेहरूको उपचारमा राज्यले कुनै कमी हुन नदिन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘विविधतामा एकता नै हाम्रो शान हो’ भन्दै कोइरालाले सामाजिक सद्भावको कडीलाई अझ बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय