काठमाडौं,१५ साउन । पछिल्लो समय देखिएको तनाव र हिंसात्मक गतिविधि नियन्त्रण गर्न गृह मन्त्रालयले मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी बढाएको छ । संवेदनशील क्षेत्रहरूमा सम्भावित जोखिम पहिचान गर्न सुरक्षा निकायले ड्रोनमार्फत समेत निगरानी तीव्र पारेका छन् ।
गृह मन्त्रालयका अनुसार सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, अफवाह फैलाउने वा कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइनेछ ।
प्रशासनले नागरिकलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । साथै सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने भ्रामक सूचना, अफवाह र उत्तेजक अभिव्यक्तिको पछि नलाग्न पनि सर्वसाधारणलाई अपिल गरिएको छ ।
सुनसरीबाट सुरु भएको तनाव पछिल्ला दिनमा मधेस प्रदेशका केही जिल्लामा समेत देखिन थालेको छ । साउन १० गतेयता सुनसरीमा दुई जना र सिराहामा एक जनाको गोली लागेर मृत्यु भइसकेको छ ।
तनाव थप फैलिन नदिन सुरक्षा निकायले संवेदनशील क्षेत्रको अवस्था निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार सुरक्षा व्यवस्था थप कडा पारिने जनाएको छ ।




