काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पदाधिकारी तथा केन्द्रीय सदस्यसँगै कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँग जुममार्फत भएको छलफलमा थापाले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिए ।
उनले जिम्मेवार राजनीतिक नेतृत्वले अपुष्ट सूचनाका आधारमा तत्काल प्रतिक्रिया दिने प्रवृत्ति त्याग्नुपर्ने बताए । सूचना सार्वजनिक हुनेबित्तिकै हतारमा टिप्पणी गर्दा समाजमा अनावश्यक भ्रम फैलिनुका साथै त्यसले गम्भीर क्षति निम्त्याउन सक्ने उनको भनाइ थियो ।
थापाले नेपाली कांग्रेस मुलुकको मुख्य तथा अभिभावकीय शक्ति भएकाले समाजमा देखिने जटिल परिस्थितिलाई जिम्मेवारीपूर्वक सम्हाल्नुपर्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई संयमित भएर सही सूचना र तथ्यका आधारमा अघि बढ्न आग्रह गरे ।
‘आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हो,’ थापाले भने । जिम्मेवार राजनीतिक शक्तिका रूपमा कांग्रेसले परिस्थितिलाई थप उत्तेजित बनाउनेभन्दा शान्ति, सद्भाव र स्थिरताका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
पार्टीका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार बिदाको दिनसमेत केन्द्रीय कार्यालय खुला रहने उनले जानकारी दिए । नेता–कार्यकर्तासँग निरन्तर सम्पर्कमा रहन पार्टीका कर्मचारी र पदाधिकारीलाई परिचालन गरिएको तथा आफू पनि सम्पर्कमा रहने उनले बताए ।
थापाका अनुसार संसदीय दलका नेता तथा सांसदहरूलाई समेत आवश्यकताअनुसार परिचालन गरिएको छ । उनले बाह्य चर्चा र आलोचनाभन्दा आफ्नो कर्तव्य तथा जिम्मेवारीमा केन्द्रित हुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे ।
छलफलमा कांग्रेसका केन्द्रीय नेताहरूका साथै कोशी र मधेस प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरूको समेत सहभागिता थियो ।




