बीरगन्ज,१५ साउन । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सञ्जालमार्फत धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमका भ्रामक सामग्री सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अफवाह, भ्रामक समाचार, फोटो तथा भिडियो पोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न अपिल गरेका हुन् । यस्ता सामग्रीले धार्मिक तथा सामाजिक द्वेष बढाउनुका साथै शान्ति सुरक्षामा समेत असर पार्न सक्ने उनले बताएका छन् ।
पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक कामबाहेक घरबाहिर ननिस्कन र कुनै पनि प्रकारका जुलुस तथा भीडभाडमा सहभागी नहुन पनि उनले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी दाहालले भावनामा बहकिएर कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा तोडफोड गर्ने कार्य कानुनअनुसार दण्डनीय हुने स्पष्ट पारेका छन् । त्यस्ता गतिविधिमा संलग्न नहुन उनले सबैलाई सचेत गराएका छन् ।
उनले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न नागरिकले संयमित तथा जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।




