वीरगञ्ज,१५ साउन । वीरगञ्जमा शुक्रबार आयोजित सद्भाव र्याली सम्पन्न भएलगत्तै घण्टाघर क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।
स्थानीय प्रशासन तथा जनप्रतिनिधिहरूको संयुक्त आयोजनामा निकालिएको सद्भाव र्याली सकिएपछि हिन्दु समुदायका केही युवाहरूले सुनसरी, सिराहालगायतका जिल्लामा भएका घटनाको विरोध गर्दै घण्टाघर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले सुरक्षा सतर्कता बढाएपछि प्रहरी र प्रदर्शनकारीबीच केही समय धकेलाधकेल भएको जनाइएको छ। घटनाका कारण घण्टाघर आसपासको क्षेत्रमा तनावको अवस्था देखिए पनि सुरक्षा निकायको सक्रियतापछि स्थिति नियन्त्रणमा लिने प्रयास गरिएको थियो।
वीरगञ्जमा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायले निगरानी बढाएको छ। स्थानीय प्रशासनले कुनै पनि किसिमका उत्तेजक गतिविधि नगर्न तथा सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।




