काठमाडौं,१५ साउन । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ ।
‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि सुरु भएको अनसनमा सहभागीहरूले वित्तीय शोषण अन्त्य गर्दै सामाजिक न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
आन्दोलनरत पक्षले सर्वोच्च अदालतको परमादेशअनुसार लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई प्राथमिकतामा राखेको छ ।
संघर्ष समितिले विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने मागसमेत अघि सारेको छ । गरिब, मजदुर, सुकुम्बासी तथा किसानलाई ब्याज छुटसहित निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने र नागरिकको आवश्यकता तथा क्षमताका आधारमा रोजगारी र उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
त्यस्तै, निजी बैंक तथा वित्तीय संस्थाको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्नुपर्ने दीर्घकालीन माग पनि आन्दोलनरत पक्षले अघि सारेको छ ।
आफ्ना मागप्रति सरकार गम्भीर नभएसम्म आमरण अनसनसहितका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संघर्ष समितिले जनाएको छ ।




