काठमाडौं, १५ साउन । पछिल्लो समय विभिन्न स्थानमा देखिएको धार्मिक तनाव र हिंसात्मक गतिविधिबीच सामाजिक सद्भाव कायम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पहल गरेका छन्।
काठमाडौंमा भएको सद्भावसम्बन्धी छलफलमा हिन्दू र मुस्लिम समुदायका अगुवाहरू सहभागी हुँदै आपसी एकता र भाइचाराको सन्देश दिएका हुन्। छलफलपछि दुवै समुदायका धार्मिक अगुवाहरूले हात मिलाएर सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता व्यक्त गरे।
बैठकमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल तथा मुस्लिम समुदायका धर्मगुरु मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए।
छलफलमा पछिल्लो धार्मिक तनावले सामाजिक वातावरण प्रभावित हुनुका साथै सर्वसाधारणको धनजन र युवा पुस्तामा समेत नकारात्मक असर पर्न थालेको भन्दै धार्मिक नेतृत्व तहबाटै शान्ति र सद्भावका लागि संयुक्त पहल आवश्यक रहेकोमा जोड दिइएको थियो।
रास्वपा सभापति लामिछानेले राजनीतिक लाभ वा श्रेयभन्दा मुलुकको शान्ति र सामाजिक एकतालाई प्राथमिकता दिनुपर्ने बताए। उनले धार्मिक तनावलाई समयमै नियन्त्रण गर्न नसके यसले थप ठूलो क्षति निम्त्याउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे।
‘
जसले जुन उद्देश्यले आगो झोसेको भए पनि त्यसले डढाउने हाम्रै घर हो,’ लामिछानेले भने, ‘हामीले तत्काल संयुक्त वक्तव्यमार्फत नागरिकलाई संयमता र एकताको अपिल गर्नुपर्छ।’
दुवै समुदायका अगुवाहरूले पनि लामिछानेको पहललाई सकारात्मक रूपमा लिँदै धार्मिक सहिष्णुता, सामाजिक भाइचारा र आपसी विश्वास कायम गर्न संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।




