सिराहा,१५ साउन । गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका आफन्त तथा स्थानीयवासीले सिराहामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रदर्शन गरेका छन् ।
सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका गणेशको परिवारलाई गृहमन्त्री गुरुङले भेट्न आउने जानकारी पाएपछि स्थानीयले बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले हातमा प्लेकार्ड बोकेर सरकार तथा गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले गणेशलाई गोली हानी हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
मृतकले न्याय नपाएसम्म गृहमन्त्रीलाई गाउँ प्रवेश गर्न नदिने चेतावनीसमेत स्थानीयले दिएका छन् । १५ वर्षीय बालकको गोली लागेर मृत्यु भएको घटनाप्रति स्थानीय आक्रोशित बनेका छन् ।
प्रदर्शनकारीले मृतक परिवारलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।




