काठमाडौं,१५ साउन । चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी काठमाडौं आइपुगेकी छन् । उनी आजदेखि राजधानीको सोल्टी होटलमा सुरु हुने ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा सहभागी हुन नेपाल आएकी हुन् ।
दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने बताइएको छ । अभिनेत्री मनीषा कोइरालाको समेत कार्यक्रममा सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञ सहभागी हुनेछन् ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लक्जरी वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालका पर्यटन तथा आतिथ्य क्षेत्रका सम्भावना, लगानी र अन्तर्राष्ट्रिय बजारमा नेपालको गन्तव्य प्रवर्द्धनबारे समेत छलफल हुने बताइएको छ ।




