बीरगन्ज,१५ साउन । मधेश प्रदेशका केही जिल्लामा साम्प्रदायिक तनाव र हिंसात्मक गतिविधि बढ्दै गएपछि प्रदेश सरकारले बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन अभिभावकलाई आग्रह गरेको छ ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सार्वजनिक अपिल जारी गर्दै पछिल्लो समय सडक प्रदर्शन, जुलुस तथा भीडभाडमा बालबालिका र युवाको सहभागिता बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको हो ।
मन्त्रालयले आफ्ना सन्तानलाई कुनै पनि प्रकारको उक्साहट, अफवाह, उत्तेजना तथा हिंसात्मक गतिविधिमा सहभागी हुन नदिन अभिभावकको भूमिका महत्वपूर्ण हुने जनाएको छ । अभिभावकको सावधानी र विवेकपूर्ण निर्णयले बालबालिकाको सुरक्षा मात्र नभई प्रदेशको शान्ति, सामाजिक सद्भाव र एकता कायम राख्नसमेत सहयोग पुग्ने सरकारको भनाइ छ ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जारी गरेको अपिलमा अभिभावकलाई बालबालिकाको दैनिक गतिविधिमा विशेष निगरानी राख्न आग्रह गरिएको छ । विशेषगरी सामाजिक सञ्जालमा फैलिने भ्रामक, उत्तेजक तथा भड्काउ सामग्रीबाट बालबालिकालाई सचेत गराउन मन्त्रालयले अनुरोध गरेको छ ।
सरकारले क्षणिक आवेगमा चालिने गलत कदमले बालबालिकाको भविष्यमा गम्भीर असर पर्न सक्ने भन्दै अभिभावकलाई थप सजग हुन आग्रह गरेको छ ।
बालबालिकालाई भीड र हिंसाको बाटोबाट टाढा राख्दै शिक्षा, मानवता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको बाटोमा अघि बढाउन आफ्ना सन्तानलाई प्रेरित गर्न पनि मधेश सरकारले अभिभावकसँग अपिल गरेको छ ।




