काठमाडौं,१५ साउन । भारतले नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातको स्वीकृति समयमै नवीकरण नगर्दा करिब ७३ मेगावाट बिजुली उपयोगविहीन हुने जोखिम बढेको छ।
प्रभावित आयोजनामध्ये ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया, २२ मेगावाटको सेती खोला र ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत् आयोजना रहेका छन्। भारतीय विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट निर्यात अनुमति नवीकरणमा भएको ढिलाइका कारण यी आयोजनाबाट उत्पादित विद्युत् भारत पठाउन समस्या उत्पन्न भएको हो।
माथिल्लो चमेलियाको निर्यात अनुमति अवधि समाप्त भइसकेकाले त्यसको विद्युत् निर्यात रोकिएको छ। अन्य दुई आयोजनाको अनुमति अवधि पनि सकिन लागेकाले समयमै नवीकरण नभए ती आयोजनाको उत्पादनसमेत प्रभावित हुने अवस्था देखिएको छ।
बर्खायाममा नदीमा पर्याप्त पानी हुने भएकाले जलविद्युत् आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुन सक्छन्। तर निर्यात अनुमति नहुँदा उत्पादन कटौती गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै ऊर्जा क्षेत्रका व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यसबाट राज्य र निजी क्षेत्र दुवैलाई आर्थिक क्षति पुग्ने उल्लेख गर्दै सरकारले भारतसँग कूटनीतिक पहललाई तीव्र बनाउनुपर्ने बताएका छन्।
यता, ऊर्जा मन्त्रालयले भने अनुमति नवीकरण नियमित प्रशासनिक प्रक्रिया भएको र समस्या समाधानका लागि भारतीय पक्षसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार निकट भविष्यमै स्वीकृति नवीकरण हुने अपेक्षा गरिएको छ।
हाल भारतले नेपालबाट बंगलादेशतर्फ जाने ४० मेगावाटसहित कुल १,१५४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति प्रदान गरिसकेको छ।




