जनकपुर,१५ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। स्थानीयको असन्तुष्टि र विरोधका कारण परिवारका सदस्यहरू शव नबुझी गाउँ फर्किएका हुन्।
गृहमन्त्री सुधन गुरुङसँग बिहीबार राति भएको वार्तामा शुक्रबार दिउँसो अन्त्येष्टि गर्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार मृतकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनामा संलग्न दोषीमाथि कारबाही गर्ने, परिवारका एक–एक सदस्यलाई रोजगारी दिने तथा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
सहमतिपत्रमा पीडित पक्षका प्रतिनिधि कृष्णदेव मेहता र नरेश मेहता तथा सरकारका तर्फबाट गृहमन्त्रीले हस्ताक्षर गरेका थिए। तर, स्थानीयको विरोधका कारण परिवारले शव नबुझेपछि विराटनगरस्थित न्युरो अस्पतालमा राखिएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको पोस्टमार्टम प्रक्रिया पनि रोकिएको छ।
यसैबीच, सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका गणेश यादवका परिवारलाई पनि समान सुविधा र राहत दिनुपर्ने माग स्थानीयले अघि सारेका छन्।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले संकटको समयमा स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी गृहमन्त्रीले वार्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उता, सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले भने अवरोध हटाएर स्थिति सामान्य बनाउन सम्बन्धित पक्षसँग समन्वय जारी रहेको बताएका छन्।




