बीरगन्ज,१५ साउन । पछिल्ला घटनाक्रमले देशका विभिन्न जिल्लामा तनावको अवस्था सिर्जना भइरहेका बेला बाराका राजनीतिक दल, जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति, समाजसेवी तथा बुद्धिजीवीहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल जारी गरेका छन्।
अपिलमार्फत सुनसरी, सिरहा लगायतका जिल्लामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
संयुक्त अपिलमा बाराले विगतमा सामाजिक तथा साम्प्रदायिक तनावका कारण ठूलो क्षति बेहोरेको स्मरण गराउँदै यस्ता घटना दोहोरिन नदिन सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न आग्रह गरिएको छ।
विशेषगरी फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप र युट्युबजस्ता सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने, पुराना घटनालाई तोडमोड गरेर प्रस्तुत गर्ने, धर्म वा समुदायविरुद्ध घृणा फैलाउने तथा सामाजिक सद्भावमा असर पुग्ने सामग्री साझा नगर्न सबैसँग अनुरोध गरिएको छ।
अपिलमा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि कानुनी कारबाहीको दायरामा आउने चेतावनी दिँदै सबै धर्म, जाति र समुदायबीच आपसी विश्वास, सहिष्णुता र भाइचाराको सम्बन्ध अझ मजबुत बनाउन राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, युवा तथा सञ्चारकर्मीलाई सहकार्य गर्न आह्वान गरिएको छ।
संयुक्त अपिलको अन्त्यमा वर्तमान परिस्थितिमा संयम अपनाउन, उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन तथा बारालाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको उदाहरणका रूपमा स्थापित गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ।




