काठमाडौं,१५ साउन । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित विभिन्न जिल्लामा देखिएको पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सरकार नागरिकको सुरक्षा, शान्ति स्थापना र सामाजिक सद्भाव कायम गर्न योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा निकाय उच्च सतर्कताका साथ परिचालित भइसकेको जानकारी दिए। उनले नागरिकलाई अफवाहमा नलाग्न, संयम अपनाउन र सरकारले परिस्थिति नियन्त्रणमा लिन आवश्यक कदम चालिरहेको विश्वास दिलाए।
प्रधानमन्त्री शाहका अनुसार सरकारको पहिलो प्राथमिकता प्रभावित नागरिकको सुरक्षा सुनिश्चित गर्नु, उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु हो। शान्ति–सुरक्षा मजबुत बनाउन तथा परिस्थितिलाई थप जटिल हुन नदिन बहुआयामिक रणनीति लागू गरिएको उनले बताए।
छलफलका क्रममा प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्न, विश्वासको वातावरण निर्माण गर्न र राज्य तथा जनताबीच समन्वयको भूमिका निर्वाह गर्न आग्रह गरे। संकटको समयमा जनताको साथमा उभिनु जनप्रतिनिधिको प्रमुख जिम्मेवारी भएको उनले स्मरण गराए।
सांसदहरूले पनि प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा पुगेर शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको हालैको राष्ट्रका नाममा गरिएको सम्बोधनले प्रभावित क्षेत्रका नागरिकमा विश्वास र आशा जगाएको धारणा पनि राखे।
बैठकमा स्थानीय तहमा दीर्घकालीन शान्ति कायम गर्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिसँग निरन्तर संवादलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको थियो। साथै, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाह नियन्त्रण गर्दै विशेषगरी युवामाझ जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ।




