काठमाडौं,१५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा देखिएको गरिबी सामन्तवादी व्यवस्थाको उपज भएको दाबी गर्दै त्यसलाई घटाउने काम एमाले नेतृत्वका सरकारहरूले गरेको बताएका छन्।
शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले एमालेलाई गरिबी सिर्जना गर्ने होइन, गरिबीबाट नागरिकलाई मुक्त गराउने राजनीतिक शक्ति भएको बताए। उनले सामन्तवादी संरचनाले गरिबी जन्माएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि एमालेले विभिन्न नीति र कार्यक्रममार्फत काम गरेको धारणा राखे।
पोखरेलका अनुसार पञ्चायती व्यवस्थाको अन्त्यताका करिब ४५ प्रतिशत रहेको गरिबीको दर हाल घटेर करिब २० प्रतिशतमा पुगेको छ। उनले यसलाई मुलुकको सामाजिक–आर्थिक परिवर्तनमा एमालेको योगदानको परिणामका रूपमा प्रस्तुत गरे।
कार्यक्रममा उनले आर्थिक समृद्धि, सामाजिक न्याय र गरिबी न्यूनीकरणका लागि एमालेले आगामी दिनमा पनि आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।




