वीरगन्ज,१५ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगन्ज महानगरपालिकाको चार किलोमिटर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १५ गते साँझ ५ बजेदेखि साउन १६ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन् ।
निषेधाज्ञा अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुने, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार निषेधाज्ञा लागू हुने क्षेत्रको पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेट तोकिएको छ ।
प्रशासनले जारी आदेश उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ । पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।




