काठमाडौं,१५ साउन । अर्थ मन्त्रालय र मातहतका निकायले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटको ७३.२१ प्रतिशत मात्रै खर्च गर्न सकेका छन्। मन्त्रालयको तथ्यांकअनुसार कुल ३८ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बजेटमध्ये २८ अर्ब ५५ करोड ८ लाख रुपैयाँ खर्च भएको हो।
चालु खर्चतर्फ २९ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरिएकोमा २० अर्ब २० करोड रुपैयाँ खर्च भएको छ, जुन लक्ष्यको ६८.३७ प्रतिशत हो। यस्तै, ९ अर्ब ४५ करोड रुपैयाँ पूँजीगत बजेटमध्ये ८ अर्ब ३४ करोड रुपैयाँ खर्च गर्दै ८८.३४ प्रतिशत प्रगति हासिल गरिएको मन्त्रालयले जनाएको छ।
पूँजीगत खर्चअन्तर्गत सबैभन्दा ठूलो हिस्सा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल परियोजनामा गएको छ। उक्त परियोजनाका लागि ७ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिए पनि ७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ, जसले विनियोजनभन्दा बढी खर्च भएको देखाएको छ।
यस्तै, समग्र सरकारी खर्चतर्फ आर्थिक वर्ष २०८२/८३ मा कुल १५ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ। चालु खर्च ११ खर्ब ८० अर्ब रुपैयाँ विनियोजनमध्ये १० खर्ब ४३ अर्ब रुपैयाँ अर्थात् ८८.३४ प्रतिशत खर्च भएको छ।
तर पूँजीगत खर्च भने अपेक्षाअनुसार हुन सकेन। ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा १ खर्ब ९० अर्ब ८७ करोड रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल विनियोजनको ४६.७९ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब रुपैयाँ बजेटमध्ये ३ खर्ब ४७ अर्ब रुपैयाँ खर्च भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ।
तथ्यांकले चालु खर्चको तुलनामा विकास निर्माणसँग जोडिएको पूँजीगत खर्च अझै कमजोर रहेको देखाएको छ।




