spot_img

तराई–मधेशको सुरक्षा अवस्था सुदृढ बनाउन १५ उच्च प्रहरी अधिकृत परिचालन

spot_img
spot_img

जनकपुर,१५ साउन । तराई–मधेशमा पछिल्ला दिनमा उत्पन्न सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजी तहसम्मका १५ जना उच्च प्रहरी अधिकृतलाई विभिन्न प्रभावित जिल्लामा परिचालन गरेको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी, समन्वयात्मक र चुस्त बनाउन उच्च तहका अधिकृतहरू फिल्डमा खटाइएको हो।

१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएपछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव चुलिएको थियो। त्यसयता मोरङ, सुनसरी, सिरहा र धनुषासहितका जिल्लामा प्रदर्शन, आगजनी तथा तोडफोडका घटना भएका छन्।

बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ भने आवश्यक स्थानमा नेपाली सेनासमेत परिचालन गरिएको छ। हिंसात्मक घटनाका कारण हालसम्म तीन जनाले ज्यान गुमाइसकेका छन्।

नेपाल प्रहरीले खटाइएका उच्च अधिकृतहरूले सुरक्षा स्रोत–साधनको प्रभावकारी परिचालन, सुरक्षा अवस्थाको निरन्तर अनुगमन, नीति निर्देशन, सुरक्षा कार्ययोजनाको कार्यान्वयन तथा सूचना संकलन र विश्लेषणको जिम्मेवारी सम्हाल्ने जनाएको छ। आवश्यकता अनुसार उनीहरू फिल्डमै सक्रिय भएर सुरक्षा समन्वय र नेतृत्वसमेत गर्नेछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय