वीरगञ्ज, १६ साउन – नेपाल प्रहरीले मधेस प्रदेशका पाँच जिल्लाबाट सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा ३९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी धनुषा जिल्लाका १९ जना छन्। त्यसैगरी सर्लाहीबाट ९ जना, सिराहाबाट ५ जना, पर्साबाट ४ जना र महोत्तरीबाट २ जनालाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार उनीहरूमाथि सामाजिक सञ्जालमार्फत भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गर्ने, समुदायबीच द्वन्द्व सिर्जना गर्न सक्ने अभिव्यक्ति फैलाउने तथा स्थानीय स्तरमा तनाव उत्पन्न गराउने गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।
पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐन, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा प्रचलित अन्य कानुनी व्यवस्थाअनुसार अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।
यसैबीच, शुक्रबार पर्सा जिल्लाबाट थप दुई जनालाई पक्राउ गरिएको भए पनि उनीहरूलाई सामाजिक सद्भावसम्बन्धी घटनामा नभई अर्को छुट्टै कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत अफवाह र भडकाउ सामग्री फैलाउने गतिविधि बढ्दै गएको भन्दै प्रहरीले सर्वसाधारणलाई अपुष्ट सूचना साझा नगर्न र जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन तथा यस्ता सामग्री वा गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
स्थानीय प्रशासनले पनि प्रदेशको शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जनाउँदै अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबैसँग सहयोगको अपिल गरेको छ।




