वीरगञ्ज, साउन १६ । पर्सा प्रहरीले टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्जको रानीघाट क्षेत्रमा टायर बालेर प्रदर्शन गर्दै सार्वजनिक शान्ति भंग गर्ने गतिविधिमा संलग्न रहेका उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए।
सुनसरी र सिरहामा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको घटनाको विरोधमा उनीहरूले नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सार्वजनिक सुरक्षा र शान्ति–व्यवस्थामा असर पर्ने अवस्था देखिएपछि प्रहरी टोलीले तत्काल हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
यसअघि सामाजिक सद्भाव बिथोल्ने आशंकामा नियन्त्रणमा लिइएका केही व्यक्तिलाई सोधपुछपछि रिहा गरिएको प्रहरीले जनाएको छ। उता, स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइएपछि पर्सामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। बजार, यातायात र दैनिक गतिविधि नियमित रूपमा सञ्चालन हुन थालेका छन् भने सुरक्षा व्यवस्था भने यथावत् कडा पारिएको प्रहरीले जनाएको छ।




