spot_img

बीरगन्जमा युवकमाथि कुटपिट गर्ने एक जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,१६ साउन ।  बीरगन्जमा एक युवकमाथि कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका–२, छपकैयाका १८ वर्षीय समीर अन्सारी रहेका छन्। उनीमाथि बीरगन्ज–१६, इनर्वाका १८ वर्षीय रन्जित यादवमाथि कुटपिट गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७:३५ बजे यादव वीर्तास्थित आफ्नी फुपुको घरबाट घर फर्किरहेका बेला बीरगन्ज–२ इदगाह चोकभित्रको सडकमा पुरानो व्यक्तिगत विवादका कारण अन्सारीले उनीमाथि आक्रमण गरेका थिए।

कुटपिटबाट यादवको ओठ र नाकमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते यादवलाई तत्काल प्रभु अस्पताल पुर्‍याइएको थियो, जहाँ शुक्रबार रातिदेखि आईसीयूमा राखेर उपचार भइरहेको छ।

घटनामा संलग्न अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा सामाजिक तथा धार्मिक सद्भावमा असर पुग्ने खालका अपुष्ट र भ्रामक सामग्री प्रसारण भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढिसकेको जनाएको छ। साथै, अपुष्ट तथा भ्रामक सूचना नफैलाउन र सत्यतथ्यमा आधारित समाचार मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरीले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई जिम्मेवार बन्न र अफवाहको पछि नलाग्न समेत अपिल गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय