बीरगन्ज,१६ साउन । बीरगन्ज महानगरपालिका–रानीघाट क्षेत्रमा सडकमा टायर बालेर प्रदर्शन गरेको आरोपमा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार बिहान सडकमा टायर बालेर प्रदर्शन तथा सार्वजनिक शान्ति भंग हुने गतिविधिमा संलग्न रहेका चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
हालै सुनसरीमा भएको घटनाको विरोधमा बीरगन्जमा केही दिनदेखि विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सोही क्रममा शनिबार बिहान रानीघाट क्षेत्रमा पनि प्रदर्शन भएको थियो।
यता हिन्दुवादी अगुवाहरूले भने रानीघाट क्षेत्रमा राखिएको बजरंगबली (भगवान हनुमान) को ब्यानर रातिको समयमा च्यातिएको भेटिएपछि त्यसको विरोधमा हिन्दु युवाहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले बल प्रयोग गर्दै चार जनालाई पक्राउ गरेको आरोप लगाएका छन्।
उनीहरूले पक्राउ परेका युवाहरूलाई बिना शर्त रिहा गर्न माग गर्दै, रिहा नगरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी सामाजिक सञ्जालमार्फत दिएका छन्।
यस विषयमा प्रहरीले भने पक्राउ परेकामाथि कानुनअनुसार आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।




