काठमाडौँ,१६ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्याँस सहज रूपमा उपलब्ध नभए तत्काल आफ्नो हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्तालाई आग्रह गरेको छ।
पछिल्ला दिनमा बजारमा ग्याँस अभाव भएको गुनासो बढ्न थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय समयभित्र ०१–५९७१९०२ नम्बरमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको हो।
निगमका अनुसार देशभर एलपी ग्याँसको आयात तथा बिक्री–वितरण नियमित रूपमा भइरहेको छ। यद्यपि, कुनै क्षेत्रमा उपभोक्ताले ग्याँस प्राप्त गर्न समस्या भोगेमा हटलाइनमार्फत जानकारी दिए आवश्यक सहजीकरण गरिने जनाएको छ।
काठमाडौँ उपत्यकामा ग्याँसको माग र आपूर्तिलाई सहज बनाउन निगमले टेकुस्थित आफ्नै कार्यालयबाट पनि प्रत्यक्ष बिक्री–वितरणको व्यवस्था मिलाएको छ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उद्योगहरूमार्फत उपभोक्तालाई ग्याँस उपलब्ध गराइने निगमले जनाएको छ।
टेकु कार्यालयबाट नेपाल ग्याँस, एचपी ग्याँस, एभरेस्ट ग्याँस, सुगम ग्याँस र श्रीराम ग्याँस बिक्री गरिनेछ।
निगमले बजारमा अनावश्यक हल्ला वा अभावको त्रासमा परेर ग्याँस सञ्चित नगर्न तथा आवश्यकताअनुसार मात्र खरिद गर्न उपभोक्तासँग पुनः आग्रह गरेको छ।




