काठमाडाै,१६ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई केवल सत्ता प्राप्त गर्ने माध्यमका रूपमा नभई मानव सेवाको सबैभन्दा प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजनीति जनताको सेवा र जिम्मेवारीसँग जोडिएको विषय भएकाले यसको मूल उद्देश्य सार्वजनिक हित हुनुपर्ने धारणा राखे।
उनले विपद् व्यवस्थापनमा भावना र उत्साह मात्र पर्याप्त नहुने उल्लेख गर्दै उद्धार तथा राहत कार्यका लागि आवश्यक सीप, तालिम र तयारी अनिवार्य रहेको बताए। प्राकृतिक विपत्तिका बेला प्रभावकारी रूपमा काम गर्न स्वयंसेवक र उद्धारकर्मीलाई व्यवस्थित प्रशिक्षण दिनुपर्नेमा उनले जोड दिए।
सभापति थापाले सुनसरीमा भएको पछिल्लो घटनाका क्रममा नेपाली कांग्रेसका कार्यकर्ताले स्वतःस्फूर्त रूपमा स्थिति सामान्य बनाउन भूमिका खेलेको दाबी गर्दै यही कारण कांग्रेस राष्ट्रिय जिम्मेवारी बहन गर्ने शक्ति भएको बताए।
उनले देशभरका सबै स्थानीय तहमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार उक्त संयन्त्र विपद् आइपरेपछि मात्र सक्रिय हुने नभई वर्षभरि नै विपद् सचेतना, पूर्वतयारी र समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नेछ।
थापाले विपद्को समयमा प्रभावकारी उद्धार र राहतका लागि इच्छाशक्ति मात्रै नभई व्यावहारिक ज्ञान, दक्षता र समन्वय पनि उत्तिकै आवश्यक हुने उल्लेख गर्दै त्यसका लागि पार्टीले विभिन्न तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए।




