जनकपुर,१६ साउन । जनकपुरधाममा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले शनिबार बिहान निकालिएको सद्भाव र्यालीकै क्रममा हिन्दू सम्राट सेनाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।
सर्वपक्षीय बैठकको निर्णयअनुसार आयोजना गरिएको र्याली सम्पन्न भएपछि जनकचोकमा सम्बोधन कार्यक्रम चलिरहेका बेला हिन्दू सम्राट सेनाका सदस्यहरूले नाराबाजी गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रदर्शनकारीहरूले ‘हिन्दू मार्न पाइँदैन’, ‘हिन्दू राष्ट्र कायम गर’ र ‘हिन्दू विरोधी सावधान’ लगायतका नारा लगाएका थिए। उनीहरूको भनाइमा सरकारसँग आफ्नो पक्षको वार्ता निष्कर्षमा नपुगेकाले सद्भाव र्याली निकाल्नु समयानुकूल नभएको हो।
प्रदर्शनका क्रममा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आन्दोलनरत पक्षसँग तत्काल संवाद गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि उनले हिन्दू सम्राट सेनाका प्रतिनिधिहरूसँग छलफलका लागि समन्वय गरेका थिए।
यसअघि शुक्रबार बसेको सर्वपक्षीय बैठकमा पनि हिन्दू सम्राट सेनाका प्रतिनिधि सहभागी भएका थिएनन्। शनिबारको सद्भाव र्यालीमा समेत उक्त समूहको सहभागिता नरहेको जनाइएको छ।
जनकपुरधाममा पछिल्ला घटनापछि सामाजिक सद्भाव कायम राख्न प्रशासन, राजनीतिक दल तथा विभिन्न समुदायका प्रतिनिधिले संवाद र सहकार्यलाई प्राथमिकता दिँदै आएका छन्।




