spot_img

स्वदेश फर्किएलगत्तै शेख हसिना पक्राउ पर्ने संकेत

spot_img
spot_img

काठमाडाै,१६ साउन । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएलगत्तै कानुनअनुसार पक्राउ गरिने स्पष्ट संकेत दिएको छ। कानुनमन्त्री एम असदुज्जमाँले हसिना बंगलादेशी भूमिमा प्रवेश गर्नेबित्तिकै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका हुन्।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री असदुज्जमाँले हसिनालाई अदालतमा आत्मसमर्पण गर्ने अवसरअघि नै नियन्त्रणमा लिन सकिने बताए। उनका अनुसार सरकारले प्रचलित कानुनबमोजिम आवश्यक कदम चाल्नेछ।

सरकारको यो प्रतिक्रिया शेख हसिनाले हालै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तापछि आएको हो। उक्त अन्तर्वार्तामा हसिनाले गिरफ्तारी, जेल सजाय वा ज्यानको जोखिम भए पनि आगामी डिसेम्बरसम्म स्वदेश फर्कने आफ्नो इच्छा दोहोर्‍याएकी थिइन्।

हसिनाले अन्तर्वार्तामा आफू जुनसुकै परिस्थिति आए पनि मातृभूमि फर्कन चाहेको र जनताले आफूलाई बोलाइरहेको महसुस भएको बताएकी थिइन्।

यसअघि अन्तरिम सरकारले हसिनाको राहदानी रद्द गरिसकेको छ। उनी कसरी स्वदेश फर्किन सक्छिन् भन्ने प्रश्नमा कानुनमन्त्री असदुज्जमाँले त्यो हसिनाको व्यक्तिगत विषय भएको टिप्पणी गर्दै, जुनसुकै माध्यमबाट देश प्रवेश गरे पनि कानुनअनुसार कारबाही हुने दोहोर्‍याए।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि शेख हसिनाको सरकार सत्ताच्युत भएको थियो। त्यसपछि उनी भारत पुगेकी थिइन्। उनको बहिर्गमनपछि गठन भएको अन्तरिम सरकारले अवामी लिगलाई विघटन गरेको थियो।

नोभेम्बर २०२५ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले २०२४ को आन्दोलन दमनका क्रममा भएको हिंसासम्बन्धी मुद्दामा हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो।

यद्यपि, उक्त फैसला र न्यायिक प्रक्रियालाई लिएर अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले गम्भीर प्रश्न उठाएका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच तथा संयुक्त राष्ट्रसंघीय मानवअधिकार संयन्त्रले मुद्दाको निष्पक्षता र न्यायिक प्रक्रियाप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनुवाइ हुनुपर्ने बताएका छन्।

यसैबीच, आमनिर्वाचनपछि गठन भएको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) नेतृत्वको सरकारले भारतसँग शेख हसिनाको सुपुर्दगीका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय