spot_img

पार्टीभित्रको चुनौती समाधान र नीतिगत स्पष्टताका लागि राष्ट्रिय भेला गर्दैछौँ: शशांक कोइराला

spot_img
spot_img

काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीभित्र देखिएका आन्तरिक चुनौती र मुलुकको राजनीतिक अस्थिरता समाधानका लागि राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताएका छन्।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला हुने जानकारी दिए। उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा थप मजबुत बनाउन ५५१ सदस्यीय आयोजक समितिको संयोजनमा भेला आयोजना गर्न लागिएको बताए।

नेता कोइरालाले पछिल्लो समय नेपाली राजनीति अनिश्चितता र हिंसाको अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै त्यसको प्रभाव नेपाली कांग्रेसभित्र समेत परेको दाबी गरे।

उनले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमण तथा पार्टी कार्यालयमा भएको तोडफोडपछि उत्पन्न परिस्थितिमा पार्टीभित्र थप एकताको आवश्यकता रहेको भए पनि अपेक्षित रूपमा एकता कायम हुन नसकेको बताए।

पार्टीको विधानअनुसार कार्यकाल थप गर्ने विषयमा छलफल भइरहेका बेला विशेष महाधिवेशनको विषय उठ्दा आन्तरिक मतभेद बढेको उनको भनाइ थियो। त्यसको असर निर्वाचन परिणाममा समेत देखिएको उनले बताए।

कोइरालाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई राष्ट्रिय एकताको आधारका रूपमा व्याख्या गर्दै यसलाई कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका वर्तमान तथा पूर्व पदाधिकारी, सांसद, प्रदेश तथा जिल्ला सभापति, भ्रातृ संस्थाका प्रतिनिधि र लोकतान्त्रिक आन्दोलनसँग जोडिएका बुद्धिजीवीहरूलाई सहभागी गराइनेछ। भेलाले पार्टीभित्र देखिएको निराशा हटाउँदै आगामी राजनीतिक दिशाबारे स्पष्टता ल्याउने उनको विश्वास छ।

यसैबीच, अर्का नेता डा. शेखर कोइरालाको सहभागिताबारे सोधिएको प्रश्नमा डा. शशांक कोइरालाले शेखर कोइरालाको पूर्ण समर्थन रहेको बताए। व्यस्तताका कारण उनी स्वयं उपस्थित हुन नसके पनि अभियानप्रति ऐक्यवद्धता जनाएको उनले जानकारी दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय