रौतहट,१७ साउन । रौतहटका तीन स्थानीय तहमा करिब एक महिनादेखि अज्ञात वन्यजन्तुले घरपालुवा पशुमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरले जारी गरेको सूचनाअनुसार गरुडा नगरपालिका, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न क्षेत्रमा अज्ञात वन्यजन्तुले बाख्रासहित अन्य घरपालुवा पशु चौपायामाथि आक्रमण गरिरहेको जानकारी प्राप्त भएको छ।
कार्यालयका अनुसार गरुडा नगरपालिका–१ जयनगर क्षेत्रमा करिब एक महिनादेखि बाख्राको खोरमै प्रवेश गरी वन्यजन्तुले बाख्रा मार्ने तथा आन्द्राभुँडीसहित शरीरका विभिन्न भागमा क्षति पुर्याउने घटना दोहोरिँदै आएको छ। पछिल्ला केही दिनयता ईशनाथ नगरपालिका–१ र ३ तथा दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडामा पनि यस्तै प्रकृतिका घटना भएको जनाइएको छ।
घटनापछि वन कार्यालयले वन्यजन्तुको पहिचान र नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहासँग समन्वय गरेर प्राविधिक टोली परिचालन गरेको जनाएको छ। टोलीले निरन्तर निगरानी र खोजी गरिरहेको भए पनि हालसम्म आक्रमण गर्ने वन्यजन्तुको पहिचान हुन सकेको छैन।
वन कार्यालयले अर्को सूचना जारी नभएसम्म प्रभावित क्षेत्रका स्थानीयलाई साँझ र रातिको समयमा विशेष सावधानी अपनाउन, एक्लै बाहिर ननिस्कन, बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाहिर जान नदिन तथा घरपालुवा पशु सुरक्षित खोरमा राख्न आग्रह गरेको छ। साथै खोर वरिपरि पर्याप्त उज्यालोको व्यवस्था गर्न, झाडी तथा फोहोर सफा राख्न र गन्ध आउने फोहोर खुला रूपमा नराख्न पनि अनुरोध गरिएको छ।
त्यस्तै कुनै वन्यजन्तु देखिएमा त्यसको नजिक नजान, लखेट्ने वा समात्ने प्रयास नगर्न र सुरक्षित स्थानबाट तत्काल वन कार्यालय वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ। पशुमाथि आक्रमण भएको अवस्थामा पदचिह्न, रगत, कपाल वा अन्य प्रमाण सुरक्षित राखेर सम्बन्धित निकायलाई खबर गर्न पनि वन कार्यालयले अनुरोध गरेको छ।
वन कार्यालयका अनुसार वन्यजन्तुको पहिचान तथा नियन्त्रणका लागि प्राविधिक टोली फिल्डमा निरन्तर खटिएको छ भने स्थानीयलाई उच्च सतर्कता अपनाउन पुनः आग्रह गरिएको छ।




