सप्तरी,१७ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले सप्तरीको राजबिराज र बोदेबरसाईनमा शनिबार सद्भाव र्याली आयोजना गरिएको छ।
राजबिराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीको आयोजनामा र्याली निकालिएको हो भने बोदेबरसाईनमा नगरपालिकाको नेतृत्वमा धार्मिक तथा जातीय सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो।
‘सामाजिक सद्भाव कायम गरौँ, आपसी भाइचारा सम्बन्ध स्थापित गरौँ र एकअर्कालाई सम्मान गरौँ’ भन्ने नारासहित आयोजित र्यालीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज तथा हिन्दु–मुस्लिम समुदायका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
बोदेबरसाईनमा आयोजित र्यालीमा प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव, नगरप्रमुख आतेश कुमार सिंहलगायत जनप्रतिनिधिहरू सहभागी भएका थिए।
र्यालीमा सहभागीहरूले विवाद र द्वन्द्वबाट कुनै समाधान ननिस्कने उल्लेख गर्दै सामाजिक सद्भाव, आपसी सम्मान र सहअस्तित्वलाई मजबुत बनाउनु नै वर्तमान आवश्यकता रहेको बताएका थिए।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन र समुदायबीच विश्वास कायम गर्न सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गरिएको बताए।
देवानगञ्ज घटनापछि बोदेबरसाईनमा साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। स्थानीयवासीले यस्ता सद्भाव कार्यक्रमले जिल्लाको अवस्था क्रमशः सामान्य बन्ने विश्वास व्यक्त गरेका छन्।




