spot_img

तुलसीलाल र भीमदत्तको किसान आन्दोलनको विरासतलाई थप सशक्त बनाउन ओलीको आह्वान

spot_img
spot_img

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अग्रणी कम्युनिस्ट नेता तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन सबैलाई आह्वान गरेका छन्।

तुलसीलाल अमात्य र भीमदत्त पन्तको स्मृति दिवसका अवसरमा शनिबार श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष ओलीले उनीहरूले किसानको हक–अधिकार, सामाजिक न्याय र परिवर्तनका लागि खेलेको ऐतिहासिक भूमिकाको स्मरण गरेका हुन्।

ओलीले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले किसान आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपमा बलियो बनाउन उल्लेखनीय योगदान दिएको बताएका छन्। सामन्तवादी भूस्वामित्वको समयमा ‘जसको जोत, उसको पोत’ भन्ने नारासहित किसानलाई आफ्नो अधिकारका लागि संगठित हुन प्रेरित गरेको उल्लेख गर्दै उनले अमात्यको योगदान नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने बताएका छन्।

श्रद्धाञ्जली सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्ध संघर्ष गर्ने निर्भीक योद्धाका रूपमा स्मरण गरिएको छ। ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नारासहित उनले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानको पक्षमा आन्दोलनको नेतृत्व गरेको ओलीले उल्लेख गरेका छन्।

ओलीले २०१० साल साउन १७ गते भीमदत्त पन्तको गोली हानी हत्या गरिएको तथा किसान आन्दोलन दबाउने उद्देश्यले उनको शिर छिनाएर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद अध्यायका रूपमा स्मरण गरेका छन्।

सन्देशमा तुलसीलाल अमात्य र भीमदत्त पन्तको त्याग, समर्पण र क्रान्तिकारी विचार आज पनि नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरण, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने ओलीले बताएका छन्।

अन्त्यमा उनले किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सधैं सम्मानका साथ स्मरण भइरहने विश्वास व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय