जनकपुर,१७ साउन । संयुक्त हिन्दू मोर्चा र सरकारबीच जनकपुरधाममा पुनः वार्ता भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा यात्री निवासमा भएको वार्तामा मोर्चाले उठाएका मागबारे छलफल गर्दै मौखिक सहमति भएको जनाइएको छ।
वार्तापछि यसअघि प्रस्तुत १३ बुँदे मागपत्रलाई परिमार्जन गरी १८ बुँदामा विस्तार गरिएको बताइएको छ। संशोधित मागपत्र मोर्चाका प्रतिनिधिले गृहमन्त्रीलाई हस्तान्तरण गरेका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार भएको वार्तामा केही विषय अस्पष्ट रहेकाले आइतबारको छलफलमा ती विषय स्पष्ट पारिएको हो। विशेषगरी लेटरप्याडमा हस्ताक्षर तथा सार्वजनिक रूपमा उठाइएका अन्य जिज्ञासाबारे गृहमन्त्रीले स्पष्ट पारेपछि वार्ता सकारात्मक रूपमा टुंगिएको उनले बताए।
उनका अनुसार गृहमन्त्रीको स्पष्टिकरणपछि संयुक्त हिन्दू मोर्चा सन्तुष्ट भएको छ भने यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय पनि गरेको छ।
हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले वार्तामा केही बुँदा संशोधन गरिएको र मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा गृहमन्त्रीले आश्वासन दिएको बताए। उनले गृहमन्त्रीले भविष्यमा बल प्रयोग नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको दाबी गरे।
यसअघि शनिबार गृहमन्त्रीलाई बुझाइएको १३ बुँदे मागपत्रमा हिन्दू राष्ट्र पुनःस्थापनाको मागदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिने विषयसम्मका बुँदा समावेश थिए। पुनः भएको वार्तापछि मागपत्रलाई १८ बुँदामा विस्तार गरिएको छ।




