spot_img

अलैँची निर्यातमा ६५ प्रतिशतको वृद्धि, एक वर्षमै १२ अर्ब ६३ करोडको कारोबार

spot_img
spot_img

झापा,१७ साउन । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा यस नाकाबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।

काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो। एक वर्षको अवधिमा निर्यात कारोबार चार अर्ब ९६ करोड २९ लाख ३३ हजार रुपैयाँले बढेको हो, जुन करिब ६४.६५ प्रतिशतको वृद्धि हो।

निर्यातको मूल्यसँगै परिमाणमा पनि उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको थियो, जबकि अघिल्लो वर्ष यो परिमाण ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्र थियो।

काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको बढ्दो मागका कारण निर्यातमा उल्लेखनीय वृद्धि भएको हो।

पूर्वी पहाडी जिल्लामा मुख्य रूपमा उत्पादन हुने अलैँची नेपालको प्रमुख नगदे बालीमध्ये एक हो। यसले किसानको आम्दानी बढाउनुका साथै विदेशी मुद्रा आर्जनमा पनि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

भन्सार कार्यालयका अनुसार उत्पादन वृद्धि, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न सकिए आगामी वर्षहरूमा अलैँची निर्यात अझै बढ्ने सम्भावना रहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय