spot_img

रक्सौल आइपुग्यो १,२५० मेट्रिक टन युरिया मल, आज बीरगन्ज भित्रिने तयारी

spot_img
spot_img

बीरगन्ज,१७ साउन । लामो समयदेखि रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानका लागि राहतको खबर आएको छ। १ हजार २ सय ५० मेट्रिक टन युरिया मल बोकेको रेल्वे र्‍याक भारतको सीमावर्ती सहर रक्सौल आइपुगेको छ। मौसम अनुकूल रहे उक्त र्‍याक आइतबार बीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह हुँदै नेपाल भित्रिने तयारी गरिएको छ।

कृषि सामग्री कम्पनी लिमिटेडको बीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार युरिया मल बोकेको रेल्वे र्‍याक शनिबार रक्सौल रेल्वे स्टेसनमा आइपुगेको हो। तर शनिबार राति परेको भारी वर्षाका कारण र्‍याक तत्काल वीरगन्ज ल्याउन नसकिएको उनले बताए। मौसममा सुधार आए आइतबार नै नेपाल भित्र्याइने अपेक्षा गरिएको छ।

भारतको आईपीएल कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा पाएको छ। सोही सम्झौताअन्तर्गत कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयले कुल ११ हजार ५ सय मेट्रिक टन युरिया मल प्राप्त गर्नेछ। बाँकी परिमाण विराटनगर र भैरहवा प्रादेशिक कार्यालयका लागि सम्बन्धित नाकाबाट आपूर्ति भइरहेको कम्पनीले जनाएको छ।

धान रोपाइँ तथा बाली व्यवस्थापनको महत्वपूर्ण समयमा मलको अभावले किसानहरू समस्यामा परिरहेका बेला नयाँ खेप आइपुग्न लागेकाले केही राहत पुग्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार बाँकी युरिया मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय