काठमाडाै,१७ साउन । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा १९६ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन्। यस अवधिमा १ हजार २ सय १८ जना घाइते भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार महिनाभन्दा कम अवधिमा देशभर ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाबाट ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार सर्पदंश सबैभन्दा बढी मानवीय क्षति हुने विपद्का रूपमा देखिएको छ। ७ सय १६ वटा सर्पदंशका घटनामा ५४ जनाको मृत्यु भएको छ भने ६ सय ६८ जना घाइते भएका छन्। यी घटनाबाट ७ सय १८ परिवार प्रभावित भएका छन्।
चट्याङका २ सय ३१ घटनामा २५ जनाको मृत्यु र १ सय ३२ जना घाइते भएका छन्। त्यस्तै, लेक लाग्ने ५७ घटनामा २२ जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्। पहिरोका ६ सय ८५ घटनामा २० जनाको मृत्यु, १ जना बेपत्ता र ३० जना घाइते भएका छन्। आगलागीका १ हजार २४ घटनामा २० जनाले ज्यान गुमाएका छन् भने १ सय ३९ जना घाइते भएका छन्।
यसैगरी, जनावरको आक्रमणबाट २ सय २५ घटनामा १८ जनाको मृत्यु भएको छ। बाढीका २ सय घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ३ जना बेपत्ता र १० जना घाइते भएका छन्। हावाहुरीका ४ सय ८० घटनामा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार भारी वर्षाबाट ४ जना, ढुङ्गा पल्टिएर २ जना, वन डढेलो, हिउँ पहिरो, विस्फोटन तथा अन्य छुट्टाछुट्टै घटनामा एक–एक जनाको मृत्यु भएको छ। असिना र भूकम्पबाट भने मानवीय क्षति नभए पनि केही परिवार प्रभावित भएका छन्।
पछिल्लो २४ घण्टामा ३४ विपद्का घटना
साउन १७ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशभर ३४ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ। ती घटनामा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
यस अवधिमा १४ वटा सर्पदंशका घटनामा १ जनाको मृत्यु र १३ जना घाइते भएका छन्। ११ वटा आगलागीमा ५ जना तथा ६ वटा पहिरोका घटनामा १ जना घाइते भएका छन्। जनावरको आक्रमणका ३ घटनामा १ जना घाइते भएका छन्।
उद्धार, राहत तथा सुरक्षाका लागि २४ घण्टाभित्र नेपाल प्रहरीका २ सय ७१ जना परिचालन गरिएको प्राधिकरणले जनाएको छ। विपद्का घटनाबाट करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने १८ वटा चौपाया मरेका छन्। साथै दुई स्थानमा सडक अवरुद्ध भएको प्राधिकरणको बुलेटिनमा उल्लेख छ।




