काठमाडाै,१७ साउन । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य दोहोरो अंकले बढेर आएपछि नेपाल आयल निगम नयाँ मूल्य निर्धारणको तयारीमा जुटेको छ। निगमले मूल्य समायोजनका लागि सञ्चालक समितिको निर्णय पर्खिरहेको जनाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण पेट्रोलियम पदार्थको खरिद मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। स्वचालित मूल्य प्रणालीअनुसार दुई रुपैयाँसम्मको मूल्य समायोजन व्यवस्थापन तहबाट गर्न सकिए पनि त्यसभन्दा बढी परिवर्तनका लागि सञ्चालक समितिको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार प्राप्त नयाँ दरमा ठूलो अन्तर देखिएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीको अध्यक्षतामा बस्ने सञ्चालक समितिको बैठकले निर्णय गरेपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ।
नेपाल आयल निगमले सामान्यतया प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा आईओसीबाट प्राप्त नयाँ दरका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ। तर यसपटक शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले सञ्चालक समितिको बैठक बस्न नसक्दा नयाँ मूल्य तत्काल सार्वजनिक हुन सकेको छैन।
निगमका अनुसार सञ्चालक समितिको निर्णय लगत्तै देशभर लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ। यद्यपि बैठक कहिले बस्ने र नयाँ मूल्य कहिलेदेखि लागू हुने भन्नेबारे भने अझै निश्चित भइसकेको छैन।




