काठमाडौं,१९ साउन । नेपाली कांग्रेसले भदौ २ गतेका लागि तय गरिएको वडा अधिवेशन निर्धारित समयमा नगर्ने भएको छ। पार्टीले सदस्यता अद्यावधिक प्रक्रियाबाट बाहिर रहेका कार्यकर्तालाई समेट्ने प्रयासस्वरूप अधिवेशनको मिति पछि सार्ने तयारी गरेको हो।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अधिवेशन सञ्चालनका लागि कुनै प्राविधिक समस्या नरहेको स्पष्ट पार्दै राजनीतिक कारणले सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी हुन नसकेकाहरूलाई समावेश गर्ने अन्तिम प्रयास भइरहेकाले वडा अधिवेशन सार्ने निर्णय गरिएको बताएका छन्।
उनका अनुसार पार्टीले सदस्यता अद्यावधिकका लागि पटक–पटक समय थप गर्दै इच्छुक अधिकांश कार्यकर्तालाई प्रक्रियामा सहभागी गराइसकेको छ। तर अझै केही सदस्यलाई समेट्ने सम्भावना रहेकाले अधिवेशनको मिति पुनः निर्धारण गरिनेछ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले गत चैत १० र ११ गते बसेको बैठकबाट भदौ २ मा वडा अधिवेशन र भदौ ७ मा गाउँ तथा नगर अधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो।
यसैगरी, १७ भदौमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, २४ भदौमा एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, २ र ३ असोजमा बहु–निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तथा ७ र ८ असोजमा प्रदेश अधिवेशन गर्ने तालिका तय गरिएको थियो।
पार्टीले काठमाडौंमा १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय भने यथावत् रहेको जनाएको छ।




