काठमाडौं,१९ साउन । आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटको समर्थनमा मंगलबार वीर अस्पतालका नर्सहरूले अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना दिएका छन्। उनीहरूले नर्सिङ पेशासँग सम्बन्धित विभिन्न माग उठाउँदै प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
धर्नामा सहभागी नर्सहरूले ‘उचित तलब हाम्रो अधिकार’, ‘तलब बढाऊ’, ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’, ‘बिरामीको सुरक्षा सुनिश्चित गर’ लगायतका नारामार्फत नर्सहरूको सेवा–सुविधा सुधार र सुरक्षित कार्य वातावरणको माग गरेका थिए।
रानाभाटले साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा १५ बुँदे माग राखेर आमरण अनशन सुरु गरेकी हुन्। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार वीर अस्पतालमा भर्ना गरिएको थियो।
सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र रानाभाट पक्षबीच भएको वार्तामा अधिकांश माग अध्ययनका लागि कार्यदल गठन गर्ने प्रस्ताव राखिएको थियो। तर, कार्यदल बनाएर समस्या टार्ने प्रयास स्वीकार्य नहुने भन्दै रानाभाटले उक्त मस्यौदा अस्वीकार गरेकी छन्।
उनले भ्रष्टाचारमुक्त र उत्तरदायी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्य वातावरण तथा प्रभावकारी स्वास्थ्य प्रणाली निर्माणको माग अघि सारेकी छन्।
रानाभाटका अनुसार नर्सिङ तथा मिडवाइफ्री सेवा नेपालको स्वास्थ्य प्रणालीको आधार भए पनि न्यून तलब, असुरक्षित रोजगारी, अपर्याप्त दरबन्दी, नेतृत्वको अभाव र विभेदकारी नीतिका कारण नर्सहरू गम्भीर समस्यामा परेका छन्।
उनका प्रमुख मागमा सरकारी, निजी र मेडिकल कलेजमा कार्यरत नर्स तथा मिडवाइफका लागि कानुनी रूपमा सुनिश्चित न्यूनतम पारिश्रमिक, पर्याप्त दरबन्दी, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन तत्काल जारी, करार प्रथाको अन्त्य, समान पदोन्नति, नेतृत्वको अवसर, जोखिम भत्ता, नर्सिङ अडिट प्रणालीको कार्यान्वयन तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको व्यवस्था समावेश छन्।
रानाभाटले आफ्ना माग नर्सहरूको हितमा मात्र सीमित नभई बिरामीको सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र नागरिकको स्वास्थ्य अधिकारसँग प्रत्यक्ष जोडिएको बताएकी छन्। उनको आन्दोलनप्रति देशका विभिन्न अस्पतालमा कार्यरत नर्सहरूले पनि क्रमशः ऐक्यबद्धता जनाउँदै समर्थन विस्तार गरिरहेका छन्।




