बीरगन्ज,१८ साउन । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
आदर्शनगरस्थित केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका पदाधिकारी, आजीवन सदस्य, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो। कार्यक्रम केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूले पर्साको शान्ति–सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण, समुदाय–प्रहरी साझेदारी र सामाजिक सचेतनालगायत विषयमा एसपी भट्टराईसमक्ष सुझाव तथा धारणा राखेका थिए।
कार्यक्रममा केन्द्रका सल्लाहकार सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
नवनियुक्त एसपी भट्टराईले प्रहरी र समुदायबीचको विश्वास तथा सहकार्यलाई थप मजबुत बनाउँदै पर्साको शान्ति–सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताए। अपराध नियन्त्रणमा प्रहरीको मात्रै प्रयास पर्याप्त नहुने उल्लेख गर्दै उनले नागरिक, सामाजिक संघसंस्था र सञ्चारमाध्यमको सहकार्य आवश्यक रहेको बताए।
उनले प्रहरी र समुदायबीचको समन्वय प्रभावकारी सुरक्षा व्यवस्थाको आधार भएको बताउँदै पर्सामा कानुनको शासन कायम गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। समुदायबाट प्राप्त सूचना, सुझाव र सहयोगलाई प्रहरीले उच्च प्राथमिकताका साथ ग्रहण गर्ने उनको भनाइ थियो।
एसपी भट्टराईले सामाजिक संघसंस्थाले सञ्चालन गर्दै आएका जनचेतनामूलक अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अपराध न्यूनीकरण, सामाजिक सद्भाव कायम गर्न तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले एसपी भट्टराईलाई स्वागत गर्दै आगामी दिनमा प्रहरी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न प्रहरीसँग सहकार्य गर्ने बताए।




