बीरगन्ज,१९ साउन । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब ८:४५ बजे प्रदेश २–०३–००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल चलाइरहेका पर्साको बीरगन्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो गम्भीर घाइते भएका थिए।
घाइते दुवै जनालाई उपचारका लागि बाराको परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति १०:५४ बजे कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका राजेश महतोको अस्पतालमै उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




