बीरगन्ज,१९ साउन । बाराको कलैया उपमहानगरपालिका–२ निवासी पूर्ण अपाङ्गता भएका हिरालाल राउत कुर्मीलाई ‘उपकार सेवा नेपाल’को पहल तथा Queen Jewels Pvt. Ltd. को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।
घरबाहिर निस्कन र दैनिक आवतजावत गर्नसमेत कठिनाइ भइरहेको जानकारीपछि उपकार सेवा नेपालले कुर्मीलाई सवारीमार्फत वीरगञ्ज ल्याई ह्वीलचेयर हस्तान्तरण गरेको हो। संस्थाले सहयोग हस्तान्तरणपछि उनलाई सुरक्षित रूपमा पुनः घरसम्म पुर्याएको जनाएको छ।
उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा सम्पन्न कार्यक्रममा समाजसेवी अमर सर्राफ, युवा सचितानन्द मिश्रा, सञ्चारकर्मी प्रहलाद चौरासियालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री उपलब्ध गराउने यस्ता मानवीय अभियानले उनीहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
ह्वीलचेयर प्राप्त गरेपछि हिरालाल राउत कुर्मीको आवतजावतमा सहजता आउने र दैनिक जीवनमा सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरिएको छ।




