जनकपुर,१९ साउन । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हुलाकी राजमार्गअन्तर्गत महदेवा गाउँपालिका–१ चिमटीमा पकरीबाट बथनाहातर्फ जाँदै गरेको स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शङ्कर राम गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो।
प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार अस्पताल पुगेलगत्तै चिकित्सकले सन्तोष रामलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते शङ्कर रामलाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल रेफर गरिएको थियो। उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




