धनुषा,१९ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गृह मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको फैसला कार्यान्वयन अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले विभिन्न स्थानमा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेका हुन्।
पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका ६ जना, लागूऔषधसम्बन्धी मुद्दाका ४ जना तथा कुटपिट र लुटपाट मुद्दाका १ जना रहेका छन्।
उनीहरूमध्ये एक जनालाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना, केहीलाई ६ महिना कैदसहित २ हजार रुपैयाँ जरिवाना तथा अन्यलाई २० देखि २८ दिनसम्म कैद सजाय तोकिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तर जारी राखिने जनाएको छ।




