spot_img

सर्पदंश उपचारका लागि एन्टी स्नेक भेनमको अभाव छैन : स्वास्थ्यमन्त्री

spot_img
spot_img

काठमाडौं,१९ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टी स्नेक भेनम’ पर्याप्त मौज्दात रहेको बताउँदै यसको अभाव नरहेको स्पष्ट पारेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले हाल देशभरका केन्द्रीय स्टोर, प्रादेशिक आपूर्ति केन्द्र, स्वास्थ्य कार्यालय तथा सर्पदंश उपचार केन्द्रमा गरी १ हजार २ सय ६९ भायल एन्टी स्नेक भेनम मौज्दात रहेको जानकारी दिइन्।

उनका अनुसार हाल उपलब्ध एन्टी स्नेक भेनमबाट विष लागेको वा नलागेको अवस्थासहित करिब ८ सय ५० जना सर्पदंशका बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान गरिएको छ।

मन्त्री मेहताले थप १३ हजार २ सय भायल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढिसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको जानकारी दिँदै आपूर्ति, वितरण र दीर्घकालीन व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार सक्रिय रहेको बताइन्।

सर्पदंशका घटनामा घरायसी उपचारमा अल्झिनुभन्दा तत्काल स्वास्थ्य संस्थामा पुग्न उनले सर्वसाधारणलाई आग्रह गरिन्।

यस्तै, रेबिजविरुद्धको खोपको आपूर्तिमा पनि कुनै समस्या नरहेको मन्त्री मेहताको भनाइ छ। उनले स्वास्थ्य सेवा विभागले २ लाख ७४ हजार भायल एमआरभी (रेबिज खोप) खरिद सम्झौता गरिसकेको र आपूर्ति भइरहेको जानकारी दिइन्। साथै, गत साता मात्रै १ लाख ९० हजार भायल खोप प्राप्त भइसकेको उल्लेख गर्दै देशभर आवश्यक खोपको उपलब्धता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय