वीरगन्ज,१८ साउन । रोटरी डायग्नोस्टिक सेन्टर, वीरगन्जअन्तर्गत सञ्चालित रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले मंगलबार निःशुल्क कृत्रिम हात तथा खुट्टा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक रूपमा विपन्न तथा दुर्घटना वा अन्य कारणले हात–खुट्टा गुमाएका व्यक्तिलाई पुनः आत्मनिर्भर जीवनतर्फ फर्काउने उद्देश्यले सञ्चालन गरिएको परियोजनाबाट हालसम्म १ हजार १०० भन्दा बढी व्यक्तिले लाभ लिएको केन्द्रले जनाएको छ।
वीरगन्ज महानगरपालिका–४ स्थित रोटरी डायग्नोस्टिक सेन्टर परिसरमा आयोजित कार्यक्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिकाबाट आएका तीन जना सेवाग्राहीलाई निःशुल्क कृत्रिम हात तथा खुट्टा जडान गरी हस्तान्तरण गरिएको थियो।
सेवा प्राप्त गर्ने राधा पौडेलले दुर्घटनाका कारण हात गुमाएकी थिइन् भने थमन सिंह ताम्राकार र झबिन्द्र बहादुरले दुर्घटनामा खुट्टा गुमाएका थिए। कृत्रिम अंग जडानपछि उनीहरूले आफूहरूलाई नयाँ जीवनको अनुभूति भएको भन्दै रोटरी परिवारप्रति आभार व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले गरिरहेको सेवा मानवताको उत्कृष्ट उदाहरण भएको बताए। उनले शारीरिक अंग गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराएर सम्मानपूर्ण र आत्मनिर्भर जीवनतर्फ फर्काउने कार्य समाजसेवाको अनुकरणीय नमुना भएको उल्लेख गरे।
उनले रोटरीले कृत्रिम अंग मात्र नभई सेवाग्राहीलाई आशा, आत्मविश्वास र नयाँ जीवन प्रदान गरिरहेको भन्दै यस्ता सेवामूलक अभियानलाई सबै पक्षबाट सहयोग र प्रोत्साहन आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा डीएभी स्कुल, वीरगञ्जका कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरूले पनि परियोजनाको अवलोकन गरेका थिए। चौधरीले यस्ता कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, सेवाभाव र मानवीय संवेदनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटेरियन राकेश मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रोजेक्ट कोअर्डिनेटर डा. शाश्वत प्रसाद, डा. आनन्दकुमार झा, रोटेरियन अभिषेक चौधरीलगायतको सहभागिता रहेको थियो।
विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रले आर्थिक रूपमा विपन्न तथा दुर्घटना वा रोगका कारण अंग गुमाएका व्यक्तिलाई निःशुल्क कृत्रिम हात–खुट्टा उपलब्ध गराउँदै उनीहरूको जीवन सहज, सम्मानजनक र आत्मनिर्भर बनाउन निरन्तर योगदान दिँदै आएको जनाएको छ।




